No Image

शिक्षा विकासका पूर्वाधारहरुको पनि पूर्वाधार हो । ब्यक्ति,समाज र समग्र मुलुकको समुन्नतिका लागि शिक्षा आधारस्तम्भ हो । त्यसैले पनि शिक्षालाई उच्च प्राथमिकतामा राख्नु अपरिहार्य देखिन्छ । शिक्षालाई उच्च प्राथमिकतामा राखेर अघि बढ्नेहरु विकासका हरेक आयामहरुमा साँच्चिकै र सोचेजस्तै समुन्नतिको यात्रामा अघि बढ्न सफल देखिन्छन । यसका विपरित शिक्षालाई पछि-पछि गर्दै गरौंला,अहिले अरु नै गरौं भन्ने मुलुकहरु विकास र समुन्नतिका कुनै क्षेत्रमा अघि बढ्न नसकेर थला परेको अवस्था छ । त्यसैले शिक्षालाई उच्च प्राथमिकतामा नराखेर विकासका कुरा गर्नका लागि कसैलाई छुट नभएको यथार्थता सवै तिरका दृष्टान्तहरुको अध्ययन गर्दा सहजै पुष्टि हुन्छ ।

शिक्षाका कुरा गर्दा शिक्षा कस्तो किसिमको भन्ने विषयले पनि अहम् महत्व राख्ने गर्दछ । जसरी शरीरका हरेक अङ्ग स्वस्थ राख्नका लागि शरीरका हरेक अङ्गमा प्रवाह हुने रगतले काम गर्दछ शिक्षाले पनि त्यसैगरी काम गर्दछ । रगत गतिलो भएका शरीर स्वस्थ भए झै शिक्षा गतिलो भयो भने समाज र समग्र देश पनि स्वस्थ हुन्छ । शिक्षा गतिलो छ भन्ने कुराको प्रमाणिकरणका लागि त्यसले उत्पादन गर्ने जनशक्ति गतिलो हुनु पर्दछ । यदि शिक्षाले उत्पादन गरेका जनशक्ति  इमान्दार,स्वाभिमानी,आत्मनिर्भर,सीपयुक्त,सकारात्मक,खुशी र  ब्यक्तिगत भन्दा बृहत सामाजिक स्वार्थका निम्ति समर्पित छ भने शिक्षा गतिलो छ भनेर सहजै अनुमान गर्न सकिन्छ । अन्यथा शिक्षा आर्जन गरेर पनि ब्यक्ति कर्ममा भन्दा पनि चाकरीमा विश्वास गर्ने,काम भन्दा पनि कुरामा जोड दिने,स्वदेशलाई भन्दा पनि विदेशलाई आफ्नो गन्तब्य बनाउने र श्रमलाई भन्दा पनि पद र पोजीसनलाई उच्च प्राथमिकता दिने भयो भने त्यो शिक्षाले समुन्नतिका लागि अमृत भन्दा पनि बीष बनेर काम गर्दछ ।

शिक्षाको उल्लिखित महत्व र अपरिहार्यतालाई स्वीकार गर्दै नेपालको संविधान २०७२ ले निर्देश गरेका शिक्षाका सवालहरुलाई प्रदेशस्तरमा कानून,नीति र कार्यक्रम बनाइ कार्यान्वयन गर्नका लागि सामाजिक विकास मन्त्रालयलाई सहयोग गर्नु यस निर्देशनालयको प्रमुख भूमिका रहेको छ । यसको अतिरिक्त संविधानको मर्म अनुरुप सहकार्य,समन्वय र सहअस्तित्वका आधारमा संघीय सरकारका विभिन्न मन्त्रालय र निकायहरुबाट प्रत्यायोजित कार्यहरुको प्रदेशस्तरमा सम्पादन गर्ने र स्थानीय तहमा शिक्षाका कार्यक्रमहरु प्रभावकारी रुपमा कार्यान्वयन गर्नका लागि सहजीकरण गर्ने काम पनि यस निर्देशनालयले सम्पादन गर्ने कुरामा निर्देशनालय सचेत छ । मन्त्रालयलाई आवश्यकता महसुस भएको अवस्थामा प्रदेशको शिक्षाको स्तर उठाउने देखि लिएर शैक्षिक अनुसन्धान,प्राविधिक र ब्यावसायिक शिक्षा,उच्च शिक्षा,साक्षरता,शिक्षाको मापदण्ड निर्धारण आदिको क्षेत्रमा काम गर्न आवश्यक परामर्शका लागि निर्देशनालय हरेक परिवेशमा उपस्थित भएको छ र हुदै पनि जानेछ । यसका साथै प्रदेशको शैक्षिक उन्नयतका क्षेत्रमा निर्देशनालय जसअपजसको समेत भागि हुने गरी जिम्मेवारिपूर्वक प्रस्तुत हुने कुरामा निर्देशनालय सदैव गम्भीर र सम्बदेनशील भएको कुरा सम्बन्धित सबैमा अनुरोध गर्दछु । धन्यवाद ।

2022-09-09 18:24:39